घ्यू भरेको डिब्बा

प्रिय आमा,
तिमीभन्दा टाढा हुँदा हप्तामा एकपटक समय निकालेर फोन गर्थें,
सम्झन्छु...
सधैं उही गुनासो :
“फोन गरिराख्न मिल्दैन?”
तिमी भन्छ्यौ :
“एक डिब्बा घ्यू हालेर पठाइ दिन्छु, सकेसम्म दिनदिनै थोरैथोरै खानु।”

मेरी आमा,
तिमीले मलाई थोरै थोरै गरेर खाइरहनु भन्छ्यौ,
तर म थोरै थोरै गरेर आफैँलाई गुमाइरहेकी छु।

तिमीले हप्तामा एकपटक फोन गर भनेर गुनासो गर्यौ,
फुर्सद निकालेर गरें,
र फेरि उही आवाज :
“फोन किन उठेन?
पानी खाइस् कि?
ए... म त एक डिब्बा घ्यू राखेकी छु,
सके थोरै थोरै गरेर खाइजा।”

तिमीले मलाई कहिल्यै नछोड्ने एउटा डिब्बा दिन थाल्यौ,
सकेपछि फेरि ल्याउने गर्यौ,
त्यही पुरानो डिब्बा,
नयाँ मायाले भरिएको।

तर आमा,
कहिल्यै सोधिनौ :
“तँ पनि त रित्तिँदै गइरहेकी छेस् है?”

छोरी हुनु भनेको,
सधैं आमा भएर बाँच्नु रहेछ ..
आफ्ना घाउहरू लुकाउँदै,
अरूका आँशु पुछ्दै।

मेरी आमा,
तिमीले मलाई हरेक कुरा सिकायौ,
तर नरम हुन कहिल्यै दिनौ।
तिमी आफैं नरम हुन पाइनौ।

छोरी हुनु शाप तब बन्छ,
जब माया दिनेलाई माया माग्न लाज लाग्छ ..
किनभने हामीलाई 'देऊ' भनेर होइन, 'सह' भनेर हुर्काइयो।

तिमीले सिकायौ ..
घाम सहेर कसरी मुस्कान देखाउने,
घरका भित्ताहरू बोल्दैनन् भनेर
मनको चिच्याहट पनि थाम्नुपर्ने,
र आँसु भने आफैं पुछ्नुपर्ने।

छोरी भएर जन्मनु भनेको आमा, श्रीमती, बहिनी सबै बन्नु 
तर कहिल्यै आफू बन्न नपाउनु रहेछ 

तिमीले भनेकी थियौ नि :
“मेरो गल्ती नदोहर्याउ है।
घरको लागि चुप लाग,
आफ्नै लागि पनि चुप लाग।
कसैबाट केही आशा नगर।”

तर तिमीले एउटा कुरा कहिल्यै भनिनौ :
“आफ्नै मुटुको आवाज पनि कहिलेकाहीँ सुन्नुपर्छ।”

तिमीले मलाई कसरी लड्ने भन्ने मात्र सिकायौ,
तर हारेको मान्छेले के गर्छ ? त्यो कहिल्यै देखाइनौ।

घ्यूले त पोषण दियो आमा,
तर तिमीले भरेको माया... भारी बनिरह्यो।
तिमीले जुन माया दिनछौ,
त्यो त बलिदान थियो।

छोरी हुनु भनेको पर्खनु हो ..
आफूलाई बिर्सेर आमा पर्खनु, बुवा पर्खनु,
घर पर्खनु, अनि अन्त्यमा आफैँलाई पर्खिरहनु।

मेरी आमा,
तिमीले हरेक चोटि त्यो डिब्बा ल्यायौ ..
भरिएको, बाक्लिएको,
तर कहिल्यै आफू खाली हुँदै गएको थाहा नपाई।

तिमीले नदेख्यौ ..
म त्यो डिब्बा सक्न चाहँदिन अब,
किनभने म आफैं सकिँदैछु ..
आमाको पीडा, समाजको नियम,
र प्रेमका सर्तहरू...
जसले आत्मा जलाउँछ, तर आवाज निकाल्न दिँदैन।

कहिलेकाहीँ लाग्छ ..
केही कुरा भत्किएको ठाउँमै छोड्नुपर्छ,
जोड्न खोज्दा आत्मा चर्कन्छ।

म हाँस्दै बाँच्छु भनेर सिकाइयो,
तर त्यो हाँसो तपाईंका आँसुहरूमाथि बनाइएको पुल रहेछ।

“म तिमी भएर बाँच्न खोजें आमा,
तर म कहिल्यै म हुन पाइनँ।”

थाकेँ कहिल्यै भनिनँ,
किनभने थाक्ने छुट त छोरीलाई कहाँ हुन्छ र?

“सम्झनाहरू घ्यूझैँ बाक्लिन्छन्,
तर आमा, त्यसमा घुटन छ।”

“म तिमीको शिक्षा लिएर बाँचिरहेकी छु,
तर त्यो शिक्षाले मलाई प्रेम गर्न रोकिरहेछ ..
आफैँलाई।”

आमाले सन्तानलाई आकाश देखाउँछिन्,
तर आफैं कहिल्यै जमिनबाट उठ्न पाउँदिनन्।

अब तिमी फेरि त्यो डिब्बा ल्याउने छौ,
अझ माया थपेर।
तर म अब त्यति नै भन्न चाहन्छु :

“मेरो पनि एउटा डिब्बा छ आमा,
र त्यो रित्तिइसकेको छ।”

तिमीले जुन स्नेहले मलाई गाढा बनायौ,
म त्यसैमा हराइरहेकी छु।

तिमी जस्तै म पनि बोल्दिन,
तर तिमी जस्तै भित्रैभित्र जलिरहेकी छु।

मेरी आमा,
तिमीले मलाई चट्टान बनाउन खोज्यौ,
तर म पानी थिएँ ..
र तिमीले मलाई बाँध्दै लग्यौ,
जबसम्म म आफैं बग्न छोडिन।

तिमीले त बचाउने माया गर्यौ,
तर कहिलेकाहीँ बचाउन खोज्दा
पूरा अस्तित्व हराउँछ।

अगाडि बढ्नु पनि हिंसा हुन्छ कहिलेकाहीँ ..
जब  घाउहरू निको हुन पाएका हुन्न्।

Comments

Popular posts from this blog

The Cup of Tea

Through Your Eyes

The Myth of Law as Social Engineering: Idealism Vs Reality