ऐना



जब तिम्रा आँखाहरू ले मलाई एकटक हेरिरहन्छन्..

म विवश हुन्छु..

यो सोच्न..

कि,

के साँच्चै म यति सुन्दर छु?

कि तिम्रो नजर धमिलिएको छ?


तिम्रा ती शब्दहरू..

जसले मलाई फूलजस्तै हलुका महसुस गराउँछन्

हरेक वाक्य सँग म आफैंलाई

नयाँ रूपमा सिँगारिएको देख्छु..


तर,

 तिमीले बयान गरेजस्तै देखिन,

म कुन ऐनाको सामु उभिनुपर्छ?

किनकि भित्तामा झुन्डिएको ऐनाले

मलाई साधारण भन्दै छ।


अनि,

तिम्रो मुस्कानले मलाई

भित्ते ऐना अघि उभिएको आफ्नै छवि सँग

माया गर्न सिकाइरहेको छ..


तर 

यो प्रेम हो कि भ्रम?

जसले मेरो खाली मुहारलाई..

खुसीले सजाएको छ।


जब तिमी मेरो रूपलाई बयान गरिरहन्छौ,

म फेरि विवश हुन्छु सोच्न..

के म साँच्चै त्यति प्रिय छु..

जति तिम्रा शब्दहरूले बयान गर्छन्..

र तिम्रा आँखाहरूले बिना झुकाव नियाल्छन्?


अनि..

डर ले सताउन थाल्छ..

कि तिम्रा आँखामा बसेको छवि म हैन भने?

कि त्यो केवल एक भ्रम  मात्र हो भने?


तर,

 फेरि सोच्न बाध्य हुन्छु,

जति सुन्दर तिम्रा आँखाहरू छन्,

त्यति नै तिम्रो सृष्टि हेर्ने दृष्टि पनि।


अनि,

जब तिमी मेरो आँखामा हराउँछौ,

म आफूलाई ऐनामा हेरूँ जस्तो लाग्छ..

केही क्षण को लागि..

तिमीले देखिरहेको म..

म आफैंले पनि देख्न पाऊँ ।


र,

जसरी,

तिम्रा आँखाहरू मेरो मुहारमा हराउन तयार छन्..

उसै गरी

म पनि यो प्रेममा हराउन पाउँ।

Comments

Popular posts from this blog

The Cup of Tea

Through Your Eyes

The Myth of Law as Social Engineering: Idealism Vs Reality