मसान
मसान
म शून्यको काखमा एक्लो मसान,
न धुँवा,
न आगो,
न त जीवनको प्रमाण।
सपनाको छालले बगाएको म एक अर्थहीन कथा,
बाँच्न खोज्दै एक जिउँदो लास।
कुन व्यथा लुकाऊँ,
कुन आँसु पिऊँ?
भोक त मनको थियो, तर पेटै रित्तो भयो।
घामको झुल्कोले मलिन गरा चुम्दैन,
न जूनको किरणले यो निश्पट्ट हृदय छुन्छ,
म मौनताको बादल, गहिरो कालो,
जहाँ बिजुली पनि चम्किन डराउँछ।
म शब्दको नदी,
तर हराएको बहाव,
भित्रै गुम्सिएर शून्यमा विलाएको प्रभाव।
कुन काव्यको गीत गाऊँ?
कुन स्वरले यो निशब्दता तोडूँ?
म ती पुरानो शिलालेखका अक्षर,
जो समयको धुलोले पुरिएर अर्थहीन बने।
एक जीवनको,
एक मृत्युको,
बीचमा उभिएको म,
न यो पारि न त्यो पारि।
म एउटा गोधूलि,
जहाँ न त दिनको उमंग छ,
न रातको शान्ति।
कसैले सम्झनु पर्दैन मलाई,
कसैले बिर्सनु पनि पर्दैन।
म ती ओझेलका घाँसका बीउ,
जसले ढुंगाको मुटु चिर्न जान्दछन्।
तर आफ्नै जरामा सखाप हुने नियति बोकेर।
मलाई अब न केही चाहिन्छ,
न केही खोज्नुछ।
म केवल एउटा मसान,
जहाँ
जीवनको कथा
र मृत्युको मौनता
संगै सुत्छ।

Comments